सल्यान, २९ पुस (रेडियो कपुरकोट) । सल्यानको कपुरकोटमा अन्तर जिल्ला सुरक्षा समितीको बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकमा सल्यान, दाङ र बाँके जिल्लाका सुरक्षा समितीका पदाधिकारीहरु सहभागी थिए ।
शान्ती सुरक्षालाई प्रभावकारी बनाउन एक अर्काे जिल्ला बीच समन्वय र सुचना आदान प्रदान गर्न सहजताका लागि बैठकमा छलफल भएको सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लगायत तीनवटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता थियो । चारवटै सुरक्षा अंगका प्रमुखले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए ।
एक अर्काे जिल्लाबीच आवश्यक समन्वय गरेर कुनै पनि अबैध र कानुन विपरितका गतिविधिहरु सञ्चालन गर्न नदिने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने निर्णय समितीले गरेको बताइएको छ ।