धैनकोटमा खानेपानीको अभाव

कालिबहादुर थापा । हुम्ला, ११ कात्तिक (रेडियो श्रीनगर) । मुगुको सोरु गाउँपालिका १० धैनकोटमा खानेपानीको अभाव भएको छ ।

लामो समयदेखि धैनकोटको माथिवाडा, जैसीवाडा, उपाध्यावाडा र सार्कीवाडामा खानेपानीको पाँच ओटा धारामध्ये चार वटा धारामा पानी नआउँदा खानेपानीको अभाव भएको हो ।

भएको एउटा धारामा पनि पटक पटक पानी आउने र पटक पटक रोकिने हुदाँ स्थानीय नागरिकले खानेपानीको निकै हैरानी खेप्नु परेको धैनकोटबाट शुक्रराज आचार्यले बताउनु भएको छ ।

टाढाको मूलबाट ल्याइएको पानीको पाइपलाइनमा पटक पटक भेडा, बाख्रा, गोरु, गोठाला र बाटोमा आवत जावत गर्नेले टुटाउँदा यस्तो समस्या आएको खानेपानीका चौकीदार मनिकेश उपाध्यायले बताउनु भयो ।

गाउँमा खानेपानीको अभाव भएपछि आफूहरु नाउलो, पुख्र्यौली पँधेरोलगायतमा पुगेर फोहोर पानी प्रयोग गर्न बाध्य भएको स्थानीय नागरिक विष्णदत्त उपाध्यायले बताउनु भएको छ ।