कोरोनाको प्रभाव स्याउ र लसुनमा पनि, मूल्य ह्वात्तै बढ्यो

पंखबहादुर शाही ।
सुर्खेत, २ फागुन (जागरण) । चीनबाट आयात बन्द हुँदा कर्णाली प्रदेशमा स्याउ र लसुनको मुल्य आकाशिएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतमा अहिले लसुनको मुल्य आकाशिए सँगै लसुनको व्यापार समेत न्युन भएको छ ।
यसो त केहि महिना पहिले भारतबाट आयात हुने प्याजको मुल्य आकाशीय पछि आर्थिक अबस्था कमजोर भएका नागरिकहरुले प्याजको समेत प्रयोग गर्न छाडेका थिए ।
केहि दिन देखि प्याजको मुल्य घटेको भएपनि लसुनको मुल्य दोब्बर बढेको व्यापारीहरुले बताएका छन् । कृषि बजार सुर्खेतका अध्यक्ष प्रबल शाहीले चिनमा देखिएको कोरोना भाइरसका कारण आवात–जावत बन्द भएपछि लसुनको मुल्य करिव ७ सय रुपैयाँ प्रतिकिलो बराबर हुन थालेको जानकारी दिनुभयो ।
शाहीले कोरोनामा कारण प्रत्यक्ष रुपमा चिनबाट आयात हुने स्याउ र लसुनमा प्रभाव परेको कर्णाली रैबारलाई बताउनुभयो ।
शाहीका अनुसार प्याज केहि दिन अघि देखि घटेर ८० देखि ९० रुपैयाँ प्रति किलोमा विक्री भइरहेको छ । तरकारी बजारका केहि तरकारी मण्डिहरुमा समेत लसुन नपाइने गरेको उपभोक्ताहरुले बताएका छन् ।
यता कर्णाली प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । तर, पहिले भन्दा अहिले हरेक जसो तरकारी वाहिरबाट निर्यात गर्नुपर्ने बाध्यता भएको व्यापारिहरु नै बताउँछन् ।
प्रदेश सरकारको भुमि, व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयका प्रवक्ता तथा बरिष्ठ कृषि अर्थविज्ञ हरि प्रसाद पण्डित बाहिरको तरकारीलाई विस्तापित गर्नका लागि प्रदेश सरकारले बेमौसमी तरकारी उत्पादनलाई बढवा दिन लागेको बताउनुहुन्छ ।