शारदा सल्यानको पहिलो बालविवाहमुक्त उन्मुख नगर घोषित्

बुद्धीमान पुन ।
सल्यान, ४ फागुन (रेडियो राप्ती) । सल्यानको शारदा नगरपालिकालाई जिल्ला कै पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ ।
बालविवाह न्युनिकरण भएपछि नगरपालिकालाई आज सल्यानको पहिलो बालविवाहमुक्त उन्मुख नगरपालिकाको रुपमा घोषणा गरिएको हो ।
समुदाय प्रहरी साझेदारी अन्र्तगत जिल्ला प्रहरी कार्यलय सल्यान र शारदा नगरपालिकाको सक्रियतामा सञ्चालन भएको अभियानमा बालविवाहको अवस्थामा सुधार आएपछि बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा गरिएको शारदा नगरपालिकाले जनाएको छ ।


करिव ३४ हजार जनसंख्या भएको नरपालिकामा बालविवाह न्युनिकरणको अभियान चलाइएपछि २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब यसलाई निरन्तरता दिने भनी प्रहरी, स्थानीय नागरिक, जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
बालविवाह अत्यधिक हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र स्थानिय तहको सक्रियतामा ज्योतिष, जैसि तथा छापाखानाहरुलाई तालिम र बालविवाहको चिना नहेर्ने र कार्ड नछाप्ने भनी प्रतिबद्धता समेत गराएको थियो ।
अहिले बालविवाहमा केही सुधार आएपछि र २० वर्ष मुनिका कुनै पनि बालबालिकाको विवाह नभएकोले बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताउनुभएको छ ।