बाँके र बर्दियालाई कर्णालीमा मिसाउन तत्काल गाह्रो

सुर्खेत, ७ फागुन (जागरण) । प्रदेश नम्बर ५ का बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न जोडबल गरिएपनि तत्काल अघि नबढ्ने संकेत देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा गाभ्ने कुरा तत्काल सम्भव नभएको बताउनुभएको छ । आज सुर्खेत देखि काठमाडौँ जाने क्रममा बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
केहि प्रदेशका नाम र राजधानी टुङ्गाउने सन्दर्भमा यो विषय उठेको भएपनि तत्काल बाँके बर्दियालाई कर्णालीमा ल्याउनुपर्छ भन्ने धारणा आफुले नराखेको उहाँको भनाई छ ।
प्रचण्डले कर्णालीको विकास र परिर्वतनका लागि आफ्नो पार्टीले आवश्यक पहल गरिरहेको भए पनि यसमा विशेषगरी कर्णालीका मन्त्री तथा सांसदहरुले नै अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।
उहाँले अव नीति, कार्यक्रम र बजेट बनाउँदा कर्णालीलाई आफ्नो पार्टी र संघीय सरकारले विषेश रुपमा सोच्ने छ भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्नुभयो ।अध्यक्ष प्रचण्डले कर्णाली करिडोर, सुर्खेत विमानस्थल विस्तार, विद्युत विस्तारका आयोजनाहरु तत्कालबाट सुरुवात गरिने पनि जानकारी दिनुभयो ।
नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल सहित प्रचण्ड सुर्खेत आउनुभएको थियो ।