वीरेन्द्रनगरले गर्‍यो कृषकको पक्षमा यस्तो निर्णय, जग्गा बाँझो भेटिए नियन्त्रण गर्ने

सुर्खेत, २१ वैशाख (जागरण) । के तपाईको जग्गा बाँझो छ ? ख्याल गर्नुहोस् अव बाँझो जग्गा भेटिएमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नियन्त्रणमा लिएर जसले खेती गर्छ त्यो कृषकलाई जिम्मा लगाउला नि ।

जग्गा बाँझो राख्नेहरुको जग्गा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नियन्त्रणमा लिने भएको छ । वडा कार्यालयले अनुगमन गर्दा जग्गा बाँझो देखिएमा नगर क्षेत्रभित्र कृषि उत्पादन बृद्धि गर्ने योजनाअनुसार नियन्त्रणमा लिई खेती गर्ने कृषकलाई जिम्मा लगाउने निर्णय गरेको हो ।

फाइल फोटो ।

कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारणले देश लामो समय बन्दाबन्दीमा रहेकोले कृषि क्षेत्र प्रभावित हुनसक्ने भएकाले नगरपालिकाले कृषि उत्पादन बढाउने नयाँ योजना अख्तियार गरेको छ ।

मौसमी खेतीबाली तथा बेमौसमी तरकारी उत्पादन बृद्धि गर्ने गरी कृषकहरुलाई वीउ, विजन, मल तथा विषादीमा अनुदान दिने निर्णय पनि नगरपालिकाले गरेको छ ।

नगर कार्यपालिकाको बैठकले चालु आर्थिक बर्षको क्षमता विकास, गोष्ठी, तालिम र आन्तरिक भ्रमण योजनाको बजेट रकमान्तर गरेर कृषकहरुलाई अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

करिव ६० लाख बजेट कृषि अनुदानमा रकामान्तर गरिएको कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले जागरणलाई जानकारी दिनुभयो । नपुगेको खण्डमा वडामा पठाइने विकास बजेटसमेत कटौती गरी कृषिमा अनुदान दिइने उहाँको भनाई छ ।

धान, मकै, बोडी, फर्सी, लौका, सिमी, चिचिण्डा, घिरौंला लगायतका सिजनल तरकारी बालीको बीउ बिजनहरुमा ८० प्रतिशत र मल तथा बिषादीमा ५० प्रतिशत अनुदान दिने निर्णय भएको छ ।