परनिर्भरता हट्नुपर्‍यो, त्यस्तो चाहिन्छ बजेट

कृति सुवेदी ।

सुर्खेत, ३० जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ?
जनतासँग जनप्रतिनिधिमा हामिले रुकुमपश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्रनम्वर १ का कर्णाली प्रदेशसभा सदस्य रातो कामीसँग कुराकानी गरेका छौँ ।

१) कर्णालीको नीति तथा कार्यक्रमबारे तपाईंको प्रतिक्रिया के छ ?,
कर्णालीको नीति तथा कार्यक्रमको विषयमा मेरो विचार के हो ? भने अहिले कोरोना महामारीको पक्षलाई पनि सम्बोधन गर्नुपर्ने र अर्को विकास निर्माणका कुरामा पहिले नै शुरु भएका र अहिले अत्यावश्यक रुपमा नगरी नहुने निर्माणका कुरा पनि अघि बढाउनुपर्ने भएको हुँदा नीति तथा कार्यक्रम मिश्रित किसिमको आयो । त्यसको बारेमा नराम्रो भन्न मिल्दैन ।

२) अब बजेट सार्वजनिक हुने बेला पनि भयो, के कस्ता कुरा बजेटमा समेटिनुपर्छ ?
यसपटक विकास निर्माणका कुरा भन्दा पनि जनतालाई कोरोनाको महामारी र त्यसबाट आउने भोकमरी हटाउन मै बजेट केन्द्रित गर्नुपर्छ । युवालाई रोजगार, प्रभावित भएको शिक्षाको विषयमै विषेशगरी बजेट केन्द्रित हुनुपर्छ । यी कुरा समेटिएरै बजेट आउनुपर्छ र आउछ होला ।

३) विगतमा बजेट खर्च नै नहुने र योजना कार्यान्वयन नै नहुने गरेकोमा अब अब के गरेमा यस्तो समस्या समाधान होला ?
कतिपय कर्णाली प्रदेश सरकार संघीय संरचना नयाँ भएर, नीति नियम पनि नयाँ भएर, प्रदेश सरकार संघिय सरकारसँग परनिर्भर हुनुपर्ने स्थिति भएको भएर विगतमा बजेट खर्च हुन नसकेको हो त्यसकारण अव आउने बजेटमा चाँहि स्वास्थ्य र भोकमरी, युवाहरुलाई रोजगारमा लगायो भने अहिले त्यसो नहोला भन्ने हामीले आशा राख्याछौँ ।