सुर्खेत, ६ असार (जागरण) । कर्णाली प्रदेशमा आज थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या एक हजार दुई सय ४५ पुगेको छ ।
प्रदेश अस्पतालअन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिक्षण गरिएकामध्ये आज ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा आज पुष्टि भएका नयाँ संक्रमितमध्ये सल्यानका २६ र दैलेखका १९ र जाजरकोटका १ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
जाजरकोटको बारेकोट गाउँपालिका ५ का १ जना रहेका छन् । यस्तै दैलेखको भैरवी गाउँपालिका १ का एक जना, वडा ४ का दुई जना, गुराँस गाउँपालिका ५ का एकजना, महावु गाउँपालिका २ का तीन जना, वडा नम्बर ३ का चार जना, वडा नम्बर ४ र ५ का एक–एक जना, वडा ६ का दुई जना तथा नौमेले गाउँपालिका ५, नारायण नगरपालिका ३ र ८ का एक–एक जना छन् ।
त्यस्तै सल्यानको कुमाख गाउँपालिका ३ र ४ मा एकएक जना, वडा १ र ९ मा दुई–दुई जना, वडा २ र ६ मा तीनतीन जना, बागचौर नगरपालिका वडा १२ मा चार जना, सिद्धकुमाख गाउँपालिका २ मा एक जना, वडा ४ मा दुई जना, त्रिवेणी गाउँपालिका १, २, ३ मा एकएक जना, त्रिवेणीकै वडा ६ र कालिकामाटी गाउँपालिका ५ मा दुई–दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, आज प्रदेश अस्पताल सुर्खेतबाट सातजना, लेकबेसी नगरपालिकाको आइसोलेसन सेन्टरबाट दुई जना गरी नौ जना कोरोना संक्रमण मुक्त भएका छन् । कर्णाली हालसम्म पाँच सय १७ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालभर कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार आज मात्र ३ सय ३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा १ सय ७६ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभरका २४ प्रयोगशालामा भएको परीक्षणमा पीसीआर विधिबाट सात हजार चार सय १६ र आरडीटी विधिबाट चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ ।
अहिले क्वारेन्टाइनमा एक लाख दुई हजार दुई सय ४५ जनालाई राखिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सात हजार पाँच जनाको आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमण भइसकेपछि २२ जनाको मृत्यु भएको छ ।