काठमाडौं, ६ साउन (जागरण) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिए नफैलिएकोबारे अध्ययन गर्ने भएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो ।
महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा कोभिड– १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो ।
महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले कोभिड– १९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताउनुभयो ।
‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले सङ्क्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमुना सङ्कलन गर्नेछ ।
पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ’सेरो सर्वेक्षण’ ले पहिले मानिसमा देखिएका कोभिड– १९ को भाइरस पनि थाहा पाइने हुन्छ ।
‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका सङ्क्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमूना सङ्कलन गर्नेछ ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको बताउनुभएको छ ।