प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन हुने

पुस २२, काठमाण्डौ । प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संरचना परिवर्तन गर्दै पालिकाहरुमा आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको हो ।
मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले दिनुुभएको जानकारी अनुसार निर्देशक समितिको बैठकबाट आउँदो आर्थिक वर्षदेखि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई अभियानका रूपमा सञ्चालन गर्न तीनै तहको सरकार, रोजगारदाता, विषयगत सङ्घ संगठन, सीप विकास प्रतिष्ठान लगायत श्रम तथा रोजगारीका क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनसँग प्रत्यक्ष समन्वय र सहकार्य गरिने उहाँको भनाइ छ ।
पालिका मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार निर्माण गर्ने र श्रम बजारको नतिजामा सुधार हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचनामा परिमार्जन एवम् आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको पनि उहाँले बताउनुुभयो ।
देशमा रोजगारीको अवसरमा सङ्कुचन हुँदै जाँदा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको भन्दै मन्त्रालयले यसको व्यवस्थापनमा देखिएका विविध चुनौती समेतलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।