भदौ १ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा

सुर्खेत, ३० साउन (जागरण) । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी भदौ १ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गर्ने भएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिको हिजो बसेको बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको हो ।
सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ ।
वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ती बढेकाले निषेधाज्ञा गर्नु परेको रेग्मीले उल्लेख गर्नुभयो ।
सुर्खेत प्रवेश गर्ने मुख्य नाकाहरुबाट भित्रनेहरुलाई अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । यसैसविच कोरोना संक्रमणको जोखिम बढेपछि सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ ।
आजदेखि लागु हुनेगरी भदौ ५ गतेसम्म नगरपालिकासहित सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने भएको हो ।
संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वयको समितिले एक हप्ता कार्यालयहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यो अवधिमा स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका कुनै पनि सेवा प्रवाह हुने छैनन् ।
पछिल्लो समय वीरेन्द्रनगरमा बाहिर घुमफिर नगरेका धेरै जनामा कोरोना संक्रमण भएको पाइएको छ ।