’मनको भाव’ सार्वजनिक

सुर्खेत, ७ कात्तिक (जागरण) । दैलेख जिल्लाका विभिन्न विद्यालयमा प्रधानाध्यापक, शिक्षक एवं विभिन्न स्रोत केन्द्रमा स्रोत व्यक्तिको रूपमा सेवा गरी हाल सेवा निवृत्त हुनुभएका देवकुमार वीसीले लेख्नुभएको फूटकर कविताहरूको पुञ्ज ’मनको भाव’ सार्वजनिक भएको छ ।

दैलेखको गुराँस गाउँपालिका ६ पिलाडि जोरेबाँझमा जन्मिनुभएका वीसीले जन्मस्थलदेखि आफ्नो सेवा अवधि र अन्य समसामयिक विषयमा आफ्नो मनको भाव कविताहरूमार्फत् प्रस्फुटन गर्नुभएको छ ।

६७ पेजको कृतिमा विभिन्न शीर्षकका ३५ वटा कविता समावेश रहेका लेखक वीसीले जानकारी दिनुभयो । विमोचन कार्यक्रममा लेखक तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकाल, लेखक तथा साहित्यकार डाक्टर दीपक गौतम, सुर्खेत क्याम्पस (शिक्षा) का क्याम्पस प्रमुख माधव खनाल लगायतले सफलताको शुभकामना दिनुभएको छ ।