गोविन्द खत्री
सुर्खेत, ९ पुस ।
सुर्खेत विमानस्थल विकास विस्तार तथा स्तरोन्नती अन्तर्गत प्रभावित क्षेत्रको लगत संकलन कार्य सुरु गरिएको छ ।
सुर्खेत नागरिक उड्डयन कार्यालयले प्रभावित क्षेत्रभित्र पर्ने जमिन तथा भौतिक संरचनाको लगत संकलन सुरु गरेको हो । कार्यालयले बिहीबार एक पत्र मार्फत प्रभावित क्षेत्रका भित्र १५ दिनसम्म नयाँ संरचना बनाउन, जग्गा खरिद बिक्री गर्न, हस्तातरण तथा धितो बन्धक लगायतका कुनै पनि काम सिफारिस नगर्न अनुरोध गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ मा सिफारिस नगर्न अनुरोध गरेको हो । विमानस्थल फेन्सिङ लाइनदेखि उत्तर तर्फ ६ सय मिटर, दक्षिण तर्फ ४ सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिम तर्फ २ सय मिटर क्षेत्रफलमा लगत कारोबार रोक्का गर्न कार्यालयले अनुरोध गरेको छ । सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख उमेश पन्थीले कर्णाली प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा रहेको समिति, सुर्खेतका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समिति तथा अधिग्रहण लागत संकलन प्रारम्भिक उपसमितिको निर्णय बमोजिम लगत संकलन सुरु गरिएको जानकाकरी दिए । उनका अनुसार प्रभावित क्षेत्रभित्र के कति संरचना तथा जमिन पर्दछ भन्ने कुरा १५ दिन भित्रमा प्रतिवेदन आउने छ । विस्तृत प्रतिवेदन संभव नभएमा मोटामोटि विवरणसहितको प्रतिवेदन सार्वजनिक गरिने पन्थीले बताए । लगत संकलनको काम पुरा गरी त्यसको रिपोर्ट १५ दिनभित्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र त्यसका आधारमा जग्गा रोक्का लगायतका काम बारे सूचना जारी हुने कार्यालय प्रमुख पन्थीले जानकारी दिए । उनका अनुसार अहिले ड्रोनबाट बिमान स्थल बिस्तारको सर्भे सम्वन्धि काम भइरहेको छ ।
कार्यालय प्रमुख पन्थीले पहिलाको नक्शामा परिवर्तन गरी अव बिमानस्थल उत्तरतिर बिस्तार गरी ६ सय मिटर बढाउने गरी नक्शा तयार भएको बताए । ‘पहिला ४ सय ६० मिटर उत्तर र दक्षिण तिर लाइटिङ्गका लागि २ सय मिटिर बढाउने कुरा थियो, तर अहिले त्यो नक्शा बद्लिएको छ’, कार्यालय प्रमुख पन्थीले भने, ‘अब बिमानस्थल उत्तरतिर ६ सय मिटर बिस्तार गर्ने गरी नक्शा आएको छ ।’ उनका अनुसार चौडाई पनि पहिलाको तुलनामा बढेको छ । पहिला बिमानस्थलको बिच भागबाट ८०–८० मिटर पूर्व पश्चिम चौडाई बढाउने कुरा भएकोमा त्यो बढाएर ९०–९० मिटर बढाइने छ । यो किसिमको चौडाई ५ सय १० मिटर सम्म बढाउने र खुम्चिदै जाने कार्यालय प्रमु्ख पन्थीले बताए । उनका अनुसार बिमानस्थल टर्मिनलका लागि भावर क्षेत्रको कालुङ्गचोक जाने बाटो तिरको ठुलो क्षेत्रपनि अधिग्रहणमा पर्ने छ ।
स्थानीयद्वारा बिरोध
विमानस्थल विस्तारको प्रभावित वीरेन्द्रनगर १२ र १० नं. वडाका वासिन्दाले स्थानीयसंग समन्वय नै नगरी काम सुरु गरेको भन्दै विरोध जनाएका छन् । प्रभावितहरुको बिहीबार भएको भेलाले वीरेन्द्रनगर १२ का टिकाराम आचार्यको संयोजकत्वमा विमानस्थल विस्तार प्रभावित नागरिक संघर्ष सरोकार समिति गठनसमेत गरेको छ । बिमानस्थल विस्तारको उचित कारण, दिर्घकालिन फाइदा, मुआब्जा, जनतालाई हुने फाइदा र कर्णालीकै नमूना माविको रुपमा रहेको अमर ज्योती बिद्यालय लगायतका बिषयमा स्पष्ट जवाफ नदिएसम्म काम अघि बढाउन नदिने संघर्ष समितिका संयोजक आचार्यले बताए । प्रभावित जननतासंग अन्तरक्रिया र छलफल नै नगरी गर्न लागिएको कार्यप्रति आँफुहरुको आपत्ती रहेको उनको भनाई छ । विगतमा चार पटकसम्म विस्तार गर्दापनि पाउनुपर्ने सेवा नपाएको भन्दै बिमानस्थल बिस्तारको औचित्यबारे प्रभावितहरुले प्रश्न उठाउँदै आएका छन् । जनतासंग सरोकार नै नगरी गर्न लागिएको कार्यप्रति आपत्ती रहेको बताउँदै जनतको भावना अनुरुप मात्र काम शुरु गर्नुपर्ने उनीहरुले बताएका छन् ।