जेठमा एसईई गर्ने तयारी

काठमाडौं, १५ पुष (जागरण) । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँनुभयाे । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्नेमा उहाले जोड दिनुभयो ।

एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ । विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।