भिम बहादुर सिजापती ।
दैलेख, २५ माघ (जागरण) । प्रदेश सरकारले दैलेखमा अस्पताल सञ्चालनका लागि करोडौ रकम खर्च गरेको छ । तर स्थानीय तहमा माग गरिएअनुसार कर्मचारी अहिले समस्या भएको छ ।
दैलेखका ११ स्थानीय तहमा अस्पताल सन्चालनका लागि भन्दै प्रदेश सरकारले बजेट समेत विनियोजन गरि पठाएको थियो । प्रदेश सरकारकाबाट दैलेखका प्रत्येक स्थानीयतहमा प्रति तह १० लाखका दरले रकम पठाइएको हो ।
स्थानीय सरकारले प्रदेश सरकारको नीतिअनुसार अस्पताल सञ्चालन गर्न स्वास्थ्य सामग्रीसँगै कर्मचारी माग गरे अनुसार नहुँदा समस्या भएको महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही बताउनुभयो ।
भैरवी गाउँपालिकाले पनि एक जना एमबिबिएस डाक्टर, एक जना स्टाफ नर्ससहित कर्मचारी माग गरेको थियो । तर मागअनुसार एमबिबिएस डाक्टरको दर्खास्त नै नपरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै भगवतिमाई गाउँपालिकामा अस्पताल सञ्चालनका लागि एक जना डाक्टर, दई जना स्टाफ नर्ससहित कर्मचारी माग गरेको भए पनि स्टाफ नर्स मात्र आएका र डाक्टर नआएपछि अस्पताल सञ्चालनमा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वखत बहादुर खड्काले बताउनुभयो ।
गुराँस गाउँपालिकाले भने मागअनुसार एक जना डाक्टर, दुई जना स्टाफ नर्सको दर्खास्त परेको र छनोट प्रक्रियामा रहेको जनाएको छ ।
डुंगेश्वर गाउँपालिकाले अस्पताल सञ्चालनका लागि कर्मचारी माग गर्ने तयारी गरेको प्रमुख प्रशासकीय ललित बहादुर थापाले बताउनुभएको छ ।