नन्द कठायत ।
सुर्खेत, २२ चैत (जागरण) । कर्णालीमा विपत व्यवस्थापन प्रतिकार्यका लागि जिल्ला र स्थानीयतहले समितहरु गठन गरेका छन् ।
कर्णालीका विभिन्न जिल्लाका प्रत्येक वडा–वडामा विपद प्रतिकार्यका लागि समिति गठन गरिएको हो ।
समितिहरु मार्फत युवाहरुलाई प्रक्षिक्षण समेत दिने गरिएको स्थानीय सरकारहरुले बताएका छन ।
रुकुम पश्चिमको मुसिकोट नागरपालिकाले विपद व्यवस्थापन सम्बन्धी केन्द्र सरकारको नीति, अनूसार स्थानीय स्तरमा हुने विपद व्यवस्थापन प्रतिकार्य योजना बनाएको बताएको छ ।
नगर प्रमुख देविलाल गौतमले विपत बेला उद्धार र राहत सामाग्रीको भण्डारणका लागि चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको कर्णाली रैबारलाई जानकारी दिनुुभयो ।
यस्तै, दैलेखको नारायण नगरपालिकाले पनि सबै वडामा विपद व्यवस्थापन समिति गठन गरिसकेको छ ।
नगर प्रमुख रत्तन बहादुर खड्काले नागरिकलाई विपतबाट हुने क्षती न्युनिकरणका लागि प्रत्येक वडामा एक÷एक वटा खुल्ला मैदान छनोट गरिएको बताउनुभयो ।
पछिल्लो समय बढ्दो कोरोना भाइरस लगायतका अन्य विपदबाट हुने जोखिमलाई न्युनिकरण गर्न नगरपालिकाले एक करोड वजेट विनियोजन गरेको समेत प्रमुख खड्काले जानकारी दिनुभयो ।
यता, जिल्ला प्रशासन कार्यालयहरुले भने स्थानीय तहहरुसँगको समन्वयमा विपद व्यवस्थापनलाई महत्वका साथ प्राथमिकतामा राखिएको बताएका छन् ।
सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाईले विपत व्यावस्थापनको लागि प्रशासनले ऐन, कानुन अनुसार अगाडि बढीरहेको बताउनुभयो ।
प्रत्येक स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विपत व्यवस्थापन समिति हुने व्यवस्था छ । तर प्रदेशका सबै स्थानीय तहमा भने समिति गठन हुन सकेको छैन ।