कर्णालीमा भेण्टिलेटर चलाउने जनशक्ति अभाव

नन्द कठायत

सुर्खेत, १४ बैशाख (जागरण) ।
कोभिड १९ (कोरोना भाइरस) संक्रमितको संख्या बढ्दा कर्णाली प्रदेशमा भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा समस्या भएको छ ।
प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णालीका सबै जिल्लामा आइसियु र भेन्टिलेटरको व्यवस्था भए पनि चलाउने जनशक्ति नहुँदा समस्या भएको हो ।
निर्देशक डाक्टर रविन खड्काले अहिले प्रदेशका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताल बाहेक कर्णालीका अन्य जिल्लामा आइसियु र भेन्टिलेटर सेवा संचालन हुन नसकेको बताउनुभयो ।
उहाँकाअनुसार कर्णालीमा सरकारी र नीजि अस्पताल गरी ४० वटा अस्पताल छन् । सबै अस्पतालमा बेड, आइसियु र भेन्टिलेटर गरी १ हजार ३ सय ५० बेड सख्या छ । हाल कर्णालीका ठूलो क्षमताको अक्सिजन प्लान्ट प्रदेशका जुम्ला र सुर्खेत मात्रै सञ्चालमा छन् । अन्य जिल्लामा सिलिन्डरबाटै अक्सिजन दिइरहेको र ति जिल्लाहरुमा पनि अक्सिजन प्लान्ट पठाउने तयारी भइरहेको निर्देशक खड्काले बताउनुभयो ।