काठमाडौं, २७ बैशाख (जागरण) । पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पार्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार नभएको दाबी गर्नुभयो ।‘यो सदनले विश्वासको मत दिँदैन।’ उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन।’
उहाले संविधान मर्म अनुसार नै संसद् पुन:स्थापना भएलगत्तै ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको स्मरण गर्नुभयो। उहाले देशमा कोरोना लागेजस्तै संविधानलाई पनि कोरोना लागेको भनेर व्यङ्ग्य गर्नुभयो। उहाले राष्ट्रिय समस्या प्रधानमन्त्री ओली कि म भनेरसमेत प्रश्न गर्नुभयो। प्रचण्डले वामगठबन्धनको स्थायीत्व र विकास र समृद्धिको योजना तुहेको धारणा राख्नुभयो।