कोभिड व्यवस्थापनमा सहयोग पुर्याउन अमेरिकाबाट जन्मभूमिमा सहयोग


सुर्खेत, २ असार ।
अमेरिकामा बस्दै आउनुभएकी डम्मर कुमारी पौडेलले कोभिड–१९ व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले वीरेन्द्रनगर नगरपालिकालाई रु ५० हजार सहयोग गर्नुभएको छ ।
उहाँका बुवा वीरेन्द्रनगर ७ निवासी देविलाल पौडेलले आज (बुधबार) नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम बुझ्दै उपप्रमुख ढकालले भौगोलिक हिसाबले टाढा भएपनि आफ्नो जन्मभूमिप्रति देखाउनुभएको सहानुभूतिप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । उहाँले उपलब्ध गराएको रकम नगरपालिकाको कोभिड–१९ राहत कोषमा जम्मा गरी कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने उपप्रमुख ढकालले बताउनुभयो । नगरपालिकाले कोभिड व्यवस्थापनमा काम गरिनै रहेको भएपनि अप्ठेरो परिस्थितिमा सहयोग गर्न चाहाने दाताले नगरपालिकाको राहत कोषमा उपलब्ध गराए एकद्वार विधिबाट आत्यावश्यक ठाउँमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
यस्तै सहयोग रकम हस्तान्तरण गर्दै पौडेलले कोरोना संक्रमणबाट अप्ठेरोमा परेका नागरिकलाई सहयोग गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । अहिले कोभिडबाट परेको असर कम गर्न आफूहरुले सक्दो सहयोग गरेको भन्दै व्यक्ति–व्यक्ति भन्दा पनि नगरपालिकालाई नै हस्तान्तरण गर्दा गर्दा वास्तविक समस्या परेका व्यक्तिलाई सहयोग पुग्ने उद्देश्य आफूहरुको रहेको पौडेलको भनाइ छ ।