एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं, ३ साउन (जागरण) । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गर्नुभएको छ ।
अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गर्नुभएको हो ।
रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताउनुभयो ।