सफाई अभियान निरन्तर


सुर्खेत, ९ असोज (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा सफाई अभियानलाई निरन्तरता दिइएको छ ।
हरित पुर्नउत्थान प्रवद्र्धन परियोजना अन्तर्रगत सफाई अभियानलाई निरन्तरता दिइएको हो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेत तथा यु.एन.डि.पी को सहयोग र अन्तरनिर्भर समाज सुर्खेतको सहजीकरणमा यो अभियान निरन्तर चलेको हो ।
शनिबार वीरेन्द्रनगर नगरपालिका ८ को गुरासटोलमा सफाई अभियान सञ्चालन गरिएको छ ।
आगामी ६ महिनासम्म सञ्चालन हुने अभियानमा ३० जना सफाई स्वयम्सेवक परिचालन गरिएको छ ।
कोरोना भाइरस कोभिड–१९ बाट प्रभावितहरुलाई सफाई स्वयम्सेवकका रुपमा नियुक्त गरिएको अन्तर्रनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले जानकारी दिनुभयो ।
उहाका अनुसार एकातिर नगरको सफाई हुने र अर्कोतिर कोभिड प्रभावितहरुले रोजगारी पाउने भएको कारण अभियानमा कोभिड प्रभावितहरुलाई जोडिएको हो । नगरका विभिन्न टोलविकास संस्थाहरुसंग समन्वय गरी हप्तामा ६ दिन निरन्तर सफाई स्वयम्सेवकले सरसफाई गर्ने उहाले बताउनुभयो ।
सफाई स्वयम्सेवक सहित स्थानिय नागरिक, टोलविकास संस्था र राजनितीक दलका अगुवा साथै जनप्रतिनिधी समेत अभियानमा जोडिन सक्ने उहाले बताउनुभयो । अभियानमा मेचिमहाकाली सफाई अभियान समेत जोडिएको छ ।
नागरिकहरु सफाई सम्बन्धमा सचेत होऊन् र सकेसम्म कुहिने फोहोरलाई घरमै व्यवस्थापन गरी कम्पोष्ट मलको रुपमा प्रयोग गरुन् भन्नको लागि यो अभियान सुरु गरिएको शाहीले बताउनुभयो । उहाले नागरिकहरुलाई कुहिने फोहोर घरमै व्यवस्थापन गर्नको लागि पक्की पिट निर्माणमा १५ सय बराबरको सहयोग समेत गर्ने बताउनुभयो ।
वीरेन्द्रनगर उपत्यकाका १२ वटा वडामा यो अभियान सञ्चालन गरि नगरलाई स्वच्छ र सफा राख्ने, हरित नगरको रुपमा यसलाई विकास गर्ने, नागरिकहरुमा सरसफाई सम्बन्धि चेतना बृद्धी गर्ने अभियानको उदेश्य रहेको शाहीको भनाई छ ।