सुर्खेत वराहातालका किसानालाई राहत रकम उपलब्ध

सुर्खेत, १६ असोज (जागरण) । जंगली जनावरहरुद्वारा लगाइएको खेती र घरपालुवा जनावरहरुमा क्षती पुगेका सुर्खेत वराहाताल गाउँपालिका वडा नम्बर ३ का किसानले राहत रकम पाएका छन ।
वर्दीया राष्ट्रिय निकुञ्जको सहयोगमा तरङ्गा सिद्धचुली उपभोक्ता समितिमार्फत किसानहरुलाई राहत रकम प्रदान गरिएको हो ।
उनिहरुलाई आज टोलटोलमै पुगेर एकमुष्ट ३ लाख ६४ हजार पाँच सय रुपैयाँ वितरण गरिएको छ । क्षतीको अवस्था हेरेर एकजना किसानलाई ५ हजारदेखि २० हजार सम्म रकम उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रकला बुढाले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यस क्षेत्रका अधिकांस किसानहरुले लगाएको खेती र घरपालुवा जनावरहरुलाई जंगली जनावरहरुले ठुलो क्षती पुर्याउने गरेको छ ।
क्षती पुगेका हर्रेकाँडा, लेक गाउँ, नर्सिङ काँडा र सुकुरमाला टोलमा राहत रकम दिइएको र क्षती पुगेका अन्य टोलका किसानलाई केहीदिनमै रकम उपलब्ध गराइने बुढाले जानकारी दिनुभयो ।
उहाका अनुसार निकुञ्जको सहयोगमा गत आर्थिक बर्षमा १२ लाख ९९ हजार ५ सय रकम राहत स्वरुप किसानलाइृ दिइएको हो ।
उपभोक्ता समितिले खाद्यन्नको मुल्य र घरपालुवा पशुचौपायको मुल्य बढ्दै गएको भन्दै राहत रकम कार्यविधि संशोधन गरि रकम बढाउनुपर्ने माग समेत गरेको छ ।