सडक निर्माण र बिस्तारमा ढिलाई भएको भन्दै युवाहरु आन्दोलित

सिर्जना बुढाथोकी ।
सुर्खेत, १८ कात्तिक (जागरण) । सुर्खेत वीरेन्द्रनगर मंगलगढी—लाटीकोइली सडकखण्ड निर्माण र बिस्तारमा ढिलाई भएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन ।
उनिहरुले आज विरोध ¥याली समेत निकालेर “के पाइस जनता, धुलो र धुवा”, “ए साच्ची जनप्रतिनिधिको काम के रे ?” “नेता जी चुनाब आउदै छ, के मुख लिएर लाटिकोइली आउने हो ?” जस्ता नारा समेत लगाएका थिए ।
मंगलगढी युवा क्लवको आयोजनामा निकालिएको ¥यालीमा सहभागी युवाहरुले जनताले दिने कर नेता पाल्न मात्र नभएको भन्दै आक्रोस व्यक्त गरेका छन । उनिहरुले विरोध जनाउँदै उक्त सडक आज एक घण्टा अवरुद्ध समेत गरेका छन ।
युवाहरुले भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
मंगलगढी—लाटीकोइली सडकखण्ड निर्माण र बिस्तारमा भएको ढिलाईले स्थानीय पानी पर्दा हिलाम्य र घाँम लाग्दा धुलाम्य खेप्न बाध्य भएको भन्दै उनिहरुले बिरोध जनाउँदै ज्ञापन पत्र बुझाएका हुन ।
वर्षौ वितिसक्दा पनि सडक बन्न नसक्दा काँक्रेबिहार अवलोकन गर्न आउने बाह्य पर्यटकलाई समेत सास्ती भएको युवाहरुको भनाई छ ।
आफुहरुले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका लगायतका सम्बन्धित ठाउँमा ज्ञापनपत्र बुझाइएको र अझै पनि आफ्ना मागको सुनुवाई नभए चरणवद्ध आन्दोलन गर्ने स्थानिय युवा बिमल सुवेदीले चेतावनी दिनुभयो ।
यता, वीरेन्द्रनगर नगरपालिकाले भने बाटोको प्राविधिक त्रुटीका कारण निर्माणको काममा ढिलाइ भएको प्रतिक्रिया दिएको छ ।
नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले तिहारपछि सडक निर्माण शुरु हुने कर्णाली रैबारलाई जानकारी दिनुभयो ।