सुर्खेत लेकबेसीमा सात वर्षीया बालिकाको हत्या

सुर्खेत, २४ कात्तिक (जागरण) । सुर्खेत लेकबेसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको हत्या भएको छ । घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।
लेकबेसी नगरपालिका ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको हत्या भएको हो ।
उहाको घरबाट पाँच सय मिटर दूरी उत्तरपूर्वमा रहेको त्यही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी उहा घर नफर्केपछि परिवारले सोमबार बिहान इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ । घटना कसरी भयो ? कसले हत्या गर्यो भन्ने सन्दर्भमा प्रहरीले केही व्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।