सुर्खेत, ५ मंसिर (जागरण) ।
कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलमा २५ दिन उडान अबरुद्ध हुने भएको छ ।
धावन मार्ग मर्मत सम्भार गर्नका लागि नियमित उडान बन्द हुने भएको हो । मंसिर दश गतेदेखि पुस पाँच गतेसम्म हवाई उडान बन्द हुने सुर्खेत नागरिक उड्यन कार्यालयका प्रमुख सोहनराज जोशीले जानकारी दिनुभयो । हाल सुर्खेतबाट काठ्माण्डौँ र हुम्लामा नियमित उडान भैरहेको छ भने अन्य कर्णालीका हिमाली जिल्लामा फाट्ट फुट्ट उडान हुँदै आएका थिए ।
सुर्खेत–काठ्माण्डौँ दैनिक एउटा मात्र उडान बुद्धयएरले गर्दै आएको थियो । विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने जनाएको छ । सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।