लैंगिक हिंसा न्यूनीकरणमा सहयोग गर्ने कणालीका सरोकारवालाहरुको प्रतिबद्धता

सुर्खेत, २४ मंसिर (जागरण) । कर्णाली प्रदेशका सरोकारवालाहरुले लैंगिक हिंसा अन्त्यका लागि आ–आफ्नो ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जागरण एफ एमसहित सामाजिक विकास मन्त्रालय, प्लान इन्टरनेश्नल र सादा नेपालले संयुक्त रुपमा आयोजना गरेको संवाद कार्यक्रममा सहभागी सरोकारवालाहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।
कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका अध्यक्ष देवि वलीले लैंगिक हिंसा अन्त्यका लागि भएका कानुनको कार्यान्वयन र आवश्यक कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।
आर्थिक तथा शैक्षिक रुपमा कम्जोर महिलाहरु बढी हिंसामा पर्ने गरेको भन्दै अध्यक्ष वलीले छोरीहरुलाई सक्षम बनाउन अभिभावकले लगानी गर्नुपर्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले हिंसा प्रभावित महिलाहरुलाई न्याय दिलाउन निशुल्क वकिल राखेको जानकारी दिनुभयो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हिंसा प्रभावित महिलाहरुलाई सुरक्षा दिन प्रशासन सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधनव प्रसाद श्रेष्ठले प्रहरी महिला हिंसाको घटनामा सधैँ गम्भिर रहेको बताउनु भयो । कुनै पनि व्यक्ती हिंसामा परेको जानकारी पाए प्रहरीले आवश्यक कारबाही गर्ने भन्दै प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयका सामाजिक सुरक्षा महाशाखा प्रमुख अनिता ज्ञवालीले प्रदेश सरकारले हिंसा प्रभावित महिलाहरुको सुरक्षा तथा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी हिंसा प्रभावित तथा अधिकारकर्मीहरुले महिलामाथि हुने हिंसा अन्त्य गर्न आर्थिक रुपमा सवल बनाउनुपर्ने सुझाव दिएका छन् ।