वीरेन्द्रचाेकमा १५ वर्षपछि पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना

जागरण संवाददाता

सुर्खेत, १४ पुस ।

सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकमा १५ वर्षपछि पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गरिएको छ। वीरेन्द्रनगरका केही राजावादी युवाहरूले बुधबार दिउँसो सालिक राखेका हुन् ।

२०४४ सालमा निर्माण गरिएको पूर्वराजा वीरेन्द्रको सालिक २०६२/०६३ काे परिवर्तनका क्रममा तोडफोड गरिएकाे थियाे । सालिक भत्काएपछि चाेकमा वीरेन्द्रनगर नगरपालिकाले गमला राखेर चोकको संरक्षण गरेको थियो ।

त्यसबेला पनि यहाँका राजावादीहरूले वीरेन्द्रको सालिक पुनर्स्थापना गर्नुपर्ने माग गरेका थिए । तर सालिक राख्न हुने र नहुने विषयमा विवाद भइरहेका बेला सालिक स्थापनापछि सबैको ध्यान केन्द्रित भएको छ ।

सालिक राख्ने समूहको अगुवाइ गोरक्ष पीठाधीश योगी बलभद्रले गरेका छन् । सुर्खेतवासीले सामाजिक सञ्जालमा सालिक राख्न हुने र नहुने विषयमा बहस हुन थालेको छ ।

पूर्वराजाको सालिक राखेपछि राप्रपाका नेता मुकुन्दश्याम गिरीले सालिक तोडफोडले दुःखी भएका सुर्खेती जनता सालिक पुनर्स्थापना गरेपछि खुसी भएको जनाएका छन् ।