
नवराज रोकाय
८ पुस, सुर्खेत
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत अति जेहनदार, विपन्न तथा अपाङ्गता भएका नौ जना बालबालिकाको शैक्षिक खर्च निजी क्षेत्रले बेहोर्ने जिम्मा लिएको छ । सेभ द चिल्ड्रेनको सहयोग तथा समाज जागरण केन्द्र (स्याक नेपाल) को आयोजनामा बैंक, वित्तीय संस्था र निजी क्षेत्रसँगको दोस्रो चरणको सहकार्य कार्यक्रम अन्तर्गत उक्त प्रतिबद्धता जनाइएको हो। निजी क्षेत्र नाफामूलक गतिविधिमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने उद्देश्यसहित सुरु गरिएको अभियानमा सात जनाको तीन–तीन वर्षसम्म र दुई जनाको एक–एक वर्षसम्म अध्ययन खर्च बेहोर्ने जिम्मा लिइएको छ ।
कार्यक्रम अन्तर्गत शुभ होटेल सुर्खेत प्रा.लि.ले अमरज्योति माध्यमिक विद्यालय, नेवारेमा कक्षा १२ मा अध्ययनरत पूर्णिमा रावत र श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, इत्राममा कक्षा ९ मा अध्ययनरत मनबुजा थापाको तीन–तीन वर्षसम्मको शैक्षिक खर्च बेहोर्ने जिम्मा लिएको छ। यस्तै, होटेल स्टे भ्याली भ्यु सुर्खेतले अमरज्योति मावि नेवारेकी कक्षा ९ की छात्रा सुस्मा चन्दको तीन वर्षसम्म पढाइको जिम्मेवारी लिएको छ।
एस.एस.स्टेशनरी सुर्खेतले पनि जनसेवा माध्यमिक विद्यालय, घुम्राकी कक्षा ९ की छात्रा शर्मिला शर्माको, के.पी. व्यवसाय प्रा.लि. सुर्खेतले शिव माध्यमिक विद्यालय, लाटीकोइलीकी कक्षा ८ की छात्रा सृष्टि सिंहको तथा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले अमरज्योति माध्यमिक विद्यालय, नेवारेकी कक्षा ९ की छात्रा स्मृति सुनारको तीन–तीन वर्षसम्म अध्ययन खर्च बेहोर्ने जिम्मा लिनुभएको छ ।
त्यसैगरी, डि नमस्ते होटेल सुर्खेतले शिव माध्यमिक विद्यालय, लाटीकोइलीका कक्षा ८ का छात्र सचिन चौधरीको तीन वर्षसम्म शैक्षिक खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको छ ।
यता, लाइन्स क्लब अफ सुर्खेत काँक्रेविहारले पनि श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय कक्षा ११ का विद्यार्थी टीका बी.क.को एक वर्ष र मालिका डेस्कटप सुर्खेतले जनसेवा माध्यमिक विद्यालय, घुस्राकी कक्षा ९ की छात्रा गोमा खत्रीको एक वर्षका लागि अध्ययन खर्च बेहोर्ने जिम्मा लिएका छन्। ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सहयोग पाउने बालबालिकाहरुले अध्ययनमा निरन्तरता, अनुशासन र लगनशीलता देखाउनुपर्ने बताउँदै दाताहरूले गरेको प्रतिबद्धता बीचमै नछोड्न आग्रह गर्नुभयो। उहाँले दाताले जिम्मा लिएको अवधि पूरा नगरे बालबालिकाको भविष्य अन्योलमा पर्न सक्ने भन्दै निरन्तरताको महत्व औंल्याउनुभयो।
यस्तै सेभ द चिल्ड्रेन कर्णाली प्रदेशका कार्यक्रम संयोजक बाल मुकुन्द महतले सुरुवाती चरणमा वार्षिक १२ हजार रुपैयाँका दरले सहयोग सुरु गरिएको जानकारी दिँदै यसले भावी पुस्तामा सकारात्मक सोच र प्रेरणा सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समाज जागरण केन्द्र स्याक नेपालकी अध्यक्ष मिनाकुमारी तिवारी शर्माले ‘बोलगरी मोडेल’मार्फत कर्णालीमा बालबालिकाको क्षेत्रमा योगदान र्पुयाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताउँदै निजी क्षेत्रलाई जेहनदार, अति विपन्न तथा अपाङ्गता भएका बालबालिकाको अभिभावकीय भूमिकामा आउन आग्रह गर्नुभयो । कार्यक्रममा सहयोगीदाता र बालकालिकाका अभिभावकबीच दुईपक्षीय लिखित सम्झौता समेत गरिएको छ।
