जागरण संवाददाता
सुर्खेत, माघ ७ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा अनियमिता भएको आशंकामा यातायात व्यवस्था कार्यालय सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
कार्यालयबाट लाइसेन्स वितरणमा अनियमितता भएको भन्ने सूचनाका आधारमा आयोगको प्रादेशिक कार्यालय सुर्खेतले अनुसन्धान अघि बढाएको हो । आयोगको टोलीले पुस ३० गते यातायात कार्यालयमा छापा मारेको थियो । अख्तियार स्रोतका अनुसार यातायात कार्यालय सुर्खेतले लाइसेन्स वितरण सुरु गरेदेखिका सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ । आयोगले कार्यालय र ट्रयाल सेन्टरको सीसी टिभिको स्टोरेज हार्डडिस्क पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । संकलन गरिएका प्रमाणका आधारमा अहिले प्रारम्भिक अनुसन्धान भैरहेको र आवश्यक देखिए मुद्धा दर्ता गरेर विस्तृती अनुसन्धान हुने स्रोतले जानकारी दिएको छ । आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी भेषराज रिजालले अनुसन्धान भैरहेको पुष्टि गरेपनि अहिले नै थप कुरा खोल्न नमिल्ने बताए ।
यातायात कार्यालय सुर्खेतले मोटर साइकल र स्कुटरको लाइसेन्समा २० देखि २५ हजार र चार पाँग्रे सवारीको लाइसेन्समा ४० हजार सम्म घुसा खाएर वितरण गर्ने गरेको सार्बजनिक रुपमै चर्चा हुने गरेको थियो । पैसा असुल्नकै लागि विभिन्न बहाना बनाएर लिखित परीक्षा र ट्रयालमा फेल गराउने अनि पैसा दिए मिलाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको यातायात कार्यलयमै लेखापढीको काम गर्ने एक जनाले नाम नखुलाउने सर्तमा बताए । कार्यालय प्रमुख र शाखाका कर्मचारीहरुले पैसा लिएर काम गर्न गोप्य रुपमा एजेण्टहरु खटाएको उनले दाबि गरे ।