कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा शुरु

सुर्खेत, १७ माघ (जागरण) । कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा शुरु भएको छ ।
प्रदेश अस्पतालका अनुसार आइतबारदेखि आँखा उपचार सेवा सुरु गरिएको हो । आँखा उपचार सेवा सुरु गरेसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालका निर्देशक डा. डम्मर खड्काले आँखा रोगको विभाग सुरुवात गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो ।
बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने उहाँको भनाइ छ । अहिलेसम्म सुर्खेत आँखा अस्पतालमा मात्रै आँखाको उपचार हुन्थ्यो ।
प्रदेश अस्पतालका अनुसार आँखा उपचार सेवाका लागि दुई जना आँखारोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो ।
उहाँले यही आर्थिक वर्षमा तत्काल आँखाको शल्यक्रिया सेवा पनि सुरु गरिएको जानकारी दिनुभयो ।