कर्मचारीमा कोरोना देखिएपछि विभिन्न कार्यालयहरु बन्द

सुर्खेत, १७ माघ (जागरण) । सुर्खेतको मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि मालपोत सेवा बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत पाँच जनामा कोभिड–१९ संक्रमण पुष्टी भएपछि सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका कार्यहरु माघ २१ गतेसम्मका लागि स्थगत गरिएको हो ।
कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवाग्राहीसँग प्रत्यक्ष जोडिएको कामकाज स्थगन गरिएको कार्यालयले जनाएको छ ।
दैनिक प्रशासनिक कार्यहरुलगायत, अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित कार्यहरु भने जारी रहने मालपोत कार्यालय सुर्खेतका कार्यालय प्रमुख जनकबहादुर हमालले बताउनुभएको छ ।
यसैबिच, कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय दैलेख भोलि आजदेखि पाँच दिनसम्मका लागि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सूचना निकालेर सेवाग्राहीको स्वास्थ्य सुरक्षाको ध्यान राख्दै माघ १७ देखि २१ गतेसम्म नियमित सेवाहरू रोकिने जानकारी दिनुभएको छ ।
विपद् व्यवस्थापन, शान्ति–सुरक्षा र मुद्दाका काम भने नरोकिने सूचनामा जनाइएको छ ।
प्रशासन कार्यालयका २१ कर्मचारीमध्ये चार जनालाई कोरोना सङ्क्रमण भएको र सबैजसो कर्मचारीलाई लक्षण देखिएका कारण पाँच दिनका लागि कार्यालयबाट दिइने नियमित सेवाहरू रोकिएको प्रजिअ प्याकुरेलले बताउनुभयो ।
यसअघि कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माघ १४ गतेदेखि एक हप्ताका लागि राष्ट्रिय बाणिज्य बैंक दैलेख शाखाले सबै सेवा बन्द गरेको सूचना निकालेको छ । बैंकले राजस्व तिर्नका लागि वैकल्पिक व्यवस्थापन गर्न सकिने जनाएको छ ।