कर्णालीमा पाइने बहुमुल्य जडीबुटी प्रशोधन उद्योग नहुँदा सस्तो मुल्यमा बेच्नुपर्ने बाध्यता

सुर्खेत, २ चैत (जागरण) । कर्णाली प्रदेशमा पाइने बहुमुल्य जडीबुटी प्रशोधन उद्योग नहुँदा सस्तो मुल्यमा बेच्नुपर्ने बाध्यता भएको छ ।
विगतदेखि नै प्रदेशमा जडीबुटी उद्योग स्थापनाका लागि चर्चा चलेपनि त्यसको कार्यान्वयन नहुँदा सस्तो मुल्यमा बहुमुल्य जडीबुटी बेच्नुपर्ने बाध्यता भएको हो ।
जडीबुटीबाटै प्रदेशलाई धनी बनाउने कर्णाली सरकारको योजना छ । तर सस्तो मुल्यमा निर्यात गर्नुपर्दा सरकारको राजस्व समेत वृद्धि हुन सकेको छैन ।
कर्णालीमा पाँचऔले, जटामसी र यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइने गर्दछन । तर तिनको प्रशोधन गर्ने उद्योग कर्णालीमै नहुँदा बहुमूल्य जडीबुटी सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ ।
आर्थिक वर्ष २०७४÷०७५ देखि ०७६÷०७७ सम्म कर्णालीबाट १७ हजार ६ सय ७९ टन जडीबुटी निकासी भएको छ । तर राजश्व भने जम्मा ६ करोड ७२ लाख ६१ हजार पाँच सय ३० रुपैयाँ मात्रै संकलन भएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा १३ हजार टन जडीबुटी निकासी भएको छ ।
तर, त्यो वर्ष जम्मा दुई करोड ७४ लाख ४१ हजार नौसय ९६ रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार पाँचसय ४५ टन जडीबुटी निकासी हुँदा प्रदेशले जम्मा एक करोड ८५ लाख ५८ हजार एकसय ३६ रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।
त्यस्तै ०७६÷०७७ मा दुई हजार एक सय ४३ टन जडीबुटी निकास हुँदा दुई करोड १२ लाख ६१ हजार चार सय ३८ रुपैयाँ मात्र राजश्व संकलन भएको छ । बर्सेनि ठूलो मात्रामा जडीबुटी निकासी हुँदा पनि राजश्व बढेको छैन । अर्कोतर्फ पछिल्लो समय अबैध रुपमा जडीबुटी चोरीनिकासी हुने गरेको छ ।
कोरोना महामारीका कारण यार्सागुम्बा संकलन नहुँदा र अवैध चोरी निकासी हुँदा प्रदेशले लाखौं राजश्व गुमाएको छ ।
जडीबुटीबाटै कर्णाली आत्मनिर्भर बन्न सक्ने भएपनि प्रशोधन उद्योग नहुँदा सस्तो मूल्यमै बिक्री गर्नु परेको कृषिविज्ञ छविलाल पौडेल बताउनुभयो । जडीबुटी उद्योगमा लगानी गर्न सके अर्थतन्त्रमा टेवा पुग्ने उहाको भनाइ छ ।
जडीबुटीलाई आम्दानीको स्रोत बनाउने उद्देश्यले सरकारले जडीबुटी उद्योगमा विशेष सहुलियत र साना उद्योगीलाई अनुदान दिँदै आएको सरकारको दाबी छ । कर्णालीमा मुगु, जुम्ला, हुम्ला र डोल्पामा प्रशस्त जडीबुटी पाइन्छ । त्यहाँका अधिकांश नागरिक जडीबुटी बिक्री गरेर नै जीवनकोपार्जन गर्छन् ।