विवेकशील साझा पार्टीका कर्णाली संयोजक गेहेन्द्र दाहाल एमाले प्रवेश

जागरण
सुर्खेत ७ साउन ।

विवेकशील साझा पार्टीका कर्णाली प्रदेशका संस्थापक संयोजक गेहेन्द्र दाहालसहितका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
शनिबार एमाले सुर्खेत जिल्ला कमिटी र प्रदेश कमिटिले आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दाहालसहित नेता कार्यकर्ताहरुले एमालेमा प्रवेश गरेका हुन् । कर्णाली प्रदेश कमिटि र सबै जिल्लाका संयोजक लगायत ८६२ जना एमालेमा समाहित हुने निर्णय गरेको दाहालले बताउनुभयो ।
दाहाललगायतका नेता कार्यकर्ताहरुलाई एमाले महासचिव शंकर पोखरेल, एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल लगायतले पार्टीमा स्वागत गरेका छन् ।
विवेकशील साझाका तत्कालिन केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले ‘विचार मन्दा माथी देश’ नामक राजनीतिक प्रतिवेदन ल्याएपछि दाहाल त्यसको विपक्षमा उभिनु भएको थियो । देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशील साझा पार्टीले नसक्ने लागेर एमालेमा प्रवेश गरेको दाहालले बताउनुभएको छ । मिश्रले जनताको बलिदानीबाट प्राप्त व्यवस्थालाई नै फेल गराउने षडयन्त्र गरेको भन्दै दाहालले संघीयता, संविधान लगायतका प्राप्त उपलब्धीहरुलाई रक्षा गर्ने पार्टी एमाले देखेर समाहित भएको बताउनुभयो ।
२०७४ मा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका दाहाल पछि मिश्रको साझा पार्टीमा लागेका थिए । शिक्षण पेशाबाट राजनीतिमा आएका दाहाल नेपाल जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्ष समेत हुनुहुन्छ ।
एमालेमा प्रवेश गर्दै दाहालले स्थायित्व, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको काम एमाले बाहेकको अन्य शक्तिले गर्न नसक्ने दावी समेत गर्नुभयो ।
एमालेमा प्रवेश गरे लगतै सभालाई सम्बोधन गर्दै दाहालले नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने तर्क गर्नुभएको छ ।