खडेरी शुरु भएसँगै कर्णाली प्रदेशका विभिन्न ठाउँमा खानेपानी हाहाकार

सुर्खेत, ९ चैत (जागरण) । खडेरी शुरु भएसँगै कर्णाली प्रदेशका विभिन्न ठाउँमा खानेपानी अभाव हुन थालेको छ । पानीका मुहान समेत सुक्दै गएपछि खानेपानीको अभाव सिर्जना हुन थालेको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा पनि खानेपानी अभाव हुन थालेको स्थानीयले बताएका छन । यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ ।
वडाको प्रमुख समस्या नै खानेपानी रहेको गुर्भाकोट नगरपालिकाका जनप्रतिनिधिहरुले बताएका छन । लामो समयदेखि यो समस्या समाधानको लागि माथिल्लो तहको सरकारसँग हारगुहार गर्दा पनि समाधान हुन नसकेको उनिहरुको भनाई छ ।
वडा नम्बर १० का वडा अध्यक्ष भिम बहादुर खत्रीले वडाको सानो बजेटले खानेपानी समस्या समाधान गर्न नसकिएको भन्दै यो समस्या समाधान गरिदिन माथिल्लो तहका सरकारहरुलाई कर्णाली रैबारमार्फत आग्रह गर्नुभएको छ । उहाले वडामा ल्याउने पानीका श्रोत पनि नभएको भन्दै यो समस्या समाधानको लागि दिर्घकालिन समाधान खोज्न आफुले बारम्बार अनुरोध गर्दा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
यसैबिच, केही वर्षयता नेपालमा तीव्र रुपमा सडक विस्तार र डोजरको प्रयोग अत्यधिक भइरहेको छ ।
यसका कारण ग्रामीण क्षेत्रमा रहेका वन जंगल,सीमसार र चिस्यानयुक्त ठाउँको विनाश भएपछि पानीका मुहान र स्रोत सुक्दै जान थालेका छन ्।
नेपाल जलस्रोतको दोस्रो धनी देश भएर पनि विगत केही वर्षयता देशका शहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमासमेत खानेपानीको समस्या उत्पन्न भैरहेको छ ।
पानीका मुहानहरू सुक्दै गएका छन ्। चिस्यान रहिरहने ठाउँहरू डोजर संस्कृतिका शिकार बनेका छन्। सिमसार क्षेत्रहरू सुख्खा ठाउँमा परिणत हुँदैछन्। ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधारा गाउँघरबाटै लोप हुन थालेका छन्।
बढ्दो शहरीकरण र संरक्षण अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधारा हराउँदै जान थालेका हुन् ।
अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय जल सम्पदा पुरिएका कर्णालीका केही जानकारवालाहरु बताउनछन ।