राजधानी शहर वीरेन्द्रनगरको बजेट ९६ करोड

सुर्खेत, १० असार (जागरण) । स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहले भौतिक पुर्वाधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि निति कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि ९६ करोड २२ लाख ८३ हजार बराबरको बजेटसमेत सार्वजनिक गरेको हो ।
उपप्रमुख मोहनमाया ढकालले प्रस्तुत गरेको निति तथा कार्यक्रम र बजेटमा वीरेन्द्रनगरलाई भौतिक रुपले योजनाबद्ध, शहरी सुविधायुक्त, स्वच्छ, शैक्षिक, प्रशासनिक र पर्यटकिय शहरको रुपमा निर्माण गर्दै प्रदेश राजधानीलाई आधुनिक शहरका रुपमा विकास गर्ने उल्लेख छ ।
नगरपालिकाले प्रत्येक वडाका लागि १ करोड ३० लाख को वडा विकासका लागि छुट्टाएको छ । हरेक वडाहरुमा एक वटा एक करोड भन्दा बढी लगानी लाग्ने योजना छनोट गरेको उल्लेख गरिएको छ । ३० लाख भन्दा माथिका वडा गौरबका योजना र १ करोड माथिका नगर गौरबको योजना सञ्चालन गरिने उपप्रमुख ढकालले जानकारी दिनुभयो ।
नगरपालिकाले १६ वडाहरुका लागि २० करोड ८० लाख छुट्टाएको छ । यस्तै महिला स्वरोजगारका लागि १ करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाले नगरभित्र गर्भवति महिलाहरुलाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्था तथा मध्यपश्चिम क्षेत्रीय अस्पतालसम्म लाग्ने एम्बुलेन्स खर्च पनि व्यवस्था गरेको छ ।
यस्तै नगरपालिकाले आधुनिक सपिङ कम्ल्पेक्सको सम्भाव्यता अध्ययन गर्ने, नगरकोे प्रमुख आर्यआर्जनका रुपमा रहेको कृषि, पशुपालन तथा फलफुल खेतिको परम्परागतलाई परिवर्तन गरि आधुनिकरण, विविधिकरण र बजारीकरण र प्रांगारीकरणमा जोड दिने उल्लेख गरिएको छ ।
सुर्खेतको दोस्रो ठूलो गुर्भाकोट नगरपालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले तीन वडा सडकलाई ‘गौरवका योजना’ का रूपमा छनोट गरेको छ ।
‘भेरी किनार पर्यटकीय सडक, सडक सञ्जालले नछोएको साबिकको धारापानी गाविस र छिन्चु–घारीवन–कालिमाटी सडकलाई गौरवका योजना छनोट गरेका भन्दै नगरप्रमुख हस्त पुनले बजेटको प्राथमिकता यसैलाई दिएको जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतसहित ४६ करोड ७९ लाख ८६ हजारको बजेट नगरपालिकाले सार्वजनिक गरेको हो ।
यस्तै सुर्खेतको लेकबेसी नगरपालिकाले आथिर्क बर्ष २०७५/७६ को निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले कुल ३८ करोड ५९ लाख ७१ हजार बजेट विनियोजन गरेको हो ।
कुल विनियोजन बजेट मध्य चालुतर्फ २२ करोड ७६ लाख ३७ हजार ५ सय र पुजीँगततर्फ १५ करोड ८३ लाख ३३ हजार ५ सय बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले स्थानिय उत्पादन र कृर्षीमा आधारित कच्चा पदार्थ कधिकतम उपयोग गरि औद्योगिकग्रामको स्थापनाको पहल गर्ने योजना अगाडी सारेको छ ।