कर्णालीका २३ पालिकाको प्रमुख र उपप्रमुख पद महिला बिहिन

टेकराज केसी । सुर्खेत, १८ जेठ (जागरण) ।  कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्य २३ वटा स्थानीय तहको नेतृत्व महिलाबिहीन भएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुबैमा पुरुष निर्वाचित भएका हुन । जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुबै पदमा पुरुष निर्वाचित भएका छन ।
यस्तै, हुम्ला ७ वटा स्थानीय तहमध्य ४ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुबैमा महिला नेतृत्व चयन हुन सकेनन भने डोल्पा ८ स्थानीय तह र कालिकोट ९ स्थानीय तहमध्य ४/४ स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबैमा पुरुष निर्वाचित भएका छन ।
त्यसैगरी, जाजरकोट ७ स्थानीय तहमध्य दुइवटा स्थानीय तहको नेतृत्व महिला बिहिन भएको छ भने मुगु चार स्थानीय तहमध्य दुइवटा स्थानीय तहमा पनि महिला नेतृत्व छैन ।
यता, रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्य दुइवटा नै महिला प्रमुख, उपप्रमुख दुबैमा पुरुष निर्वाचित भए ।
सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकामा पनि दुबै पदमा पुरुष नै निर्वाचित भए भने जुम्लाका ८ वटै पालिकाको उपप्रमुख पदमा महिलाहरु निर्वाचित भएका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने जुम्ला चन्दननाथको दुबै पदमा महिलाले नेतृत्व गरिरहेका थिए ।
प्रदेशका दुइ पालिकाको प्रमुखमा मात्रै महिला नेतृत्वमा आएका छन । सुर्खेत वीरेन्द्रनगर र दैलेख भैरबी गाउँपालिकाको प्रमुखमा महिला निर्वाचित भएका हुन ।
वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र दैलेखको भैरबी गाउँपालिकामा रिता कुमारी शाही प्रमुख पदमा चुनिएका छन ।
संविधानमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरिएपनि व्यवहारमा राजनितिक दल आफैले लागु गर्न नसकेको स्थानीय तहको निर्वाचनले पनि प्रष्ट देखाएको छ । यती मात्र होइन, प्रदेश सरकारको क्याविनेनटमा समेत महिला सहभागिता शुन्य रहेको छ ।