कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने

सुर्खेत, २२ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम जेठ २४ गते मंगलबार ल्याउने तयारी गरेको छ ।
आगामी वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको हो ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले हरेक मन्त्रालयमा बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको बताउनुभयो ।
मन्त्री विष्टले प्रदेशको सन्तुलित विकास गर्नका लागि आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रुपमा लिइने उल्लेख गर्नुभयो ।
सडक, पुल, सिंचाई, खानेपानी, शिक्षा र स्वास्थ्यका आयोजनाहरु सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गरिने छ । मन्त्री विष्टका अनूसार आयोजना बैंक स्थापना गरी सोही बैंकमा रहेका आयोजनाहरुमध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिने छ ।
प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्त्वका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ ।
विगतका अधुरा कामहरु पूरा गर्ने योजनाअनुसारका नीति ल्याउँने बताउनुभयो । हरेक मन्त्रालयमा बजेट घटेर आएको हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना अत्यन्तै न्यून छ ।