कर्णालीको बजेटमाथि छलफल अनिश्चित


सुर्खेत, २३ असार ।
लगातार स्थगित हुँदै आएको कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि सूचना टाँसेर स्थगित गरिएको छ ।
प्रदेशसभा बैठक दिउँसो १ बजे बोलाइएको थियो । वैठक नै नवसी स्थगित गरिएको हो । पुन शुक्रबार बैठक बोलाइएको देश सभाका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि निरन्तर बैठक स्थगित हुँदै आएको छ । एमालेले गत माघमा सरकारले आफूहरुसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।
यस्तै, एमालेले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान राखेको छ ।
यीनै विषयमा छलफल गर्न बिहीबार बिहान सर्वदलीय बैठक बसेको थियो । तर बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो । प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्धहुँदै आएको छ ।
वैठक नचल्दा आगामी आर्थिक बर्षका लागि प्रदेश सरकारले ल्याएको बजेट माथि छलफल अघि बढ्न सकेको छैन् ।