कर्मचारीको आन्दोलनलाई राजनीतिक ढंगले भड्काइयो ः अध्यक्ष विसी (अन्तर्वार्तासहित)


जागरण
सुर्खेत, ३२ असार ।
गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर विसीले करार कर्मचारीको आन्दोलनमा नेपाली काँग्रेसका नेताहरुले राजनीतिक रुपमा भड्काएको आरोप लगाउनुभएको छ ।
जागरण एफ.एम.को साप्ताहिक कार्यक्रम जनजिज्ञासामा कुरा गर्दै अध्यक्ष विसीले नेपाली काँग्रेस दैलेखमा पूर्व सभापति, जिल्ला सचिव एवं गाउँपालिकाका पूर्व अध्यक्ष खेमराज वली र उपाध्यक्ष दिपा विसी लगायतले राजनीतिक रुपले भड्काएको बताउनुभएको हो । पूर्व अध्यक्षले निर्वाचनमा पराजय भएको पूर्वाग्रहले कर्मचारीलाई माध्यम बनाएर राजनीतिक इगो पोखेको विसीको जिकिर छ । साथै पूर्व अध्यक्ष उपाध्यक्षले आफ्ना अनियमितताका फाइल जलाउन खोजेको आरोप लगाउनुभएको छ । ‘कर्मचारीका समस्या समाधानका लागि आज छलफल गर्ने भनेर सहायक सिडियोको रोहबरमा कर्मचारी यूनीयनका नेतृत्वहरुसंग सहमती भैसकेको थियो’ अध्यक्ष विसीले भन्नुभयो‘बाहिर आउदा नेपाली काँग्रेसका पूर्व सभापति, म संग प्रतिस्पर्धा गर्नुभएको पूर्व अध्यक्ष उपाध्यक्ष लगायतले त्यो सम्झौतामा जानु हुँदैन गाउँपालिका जलाउनुपर्छ भनेर अनियमित भएका फाइलहरु छन भनेर हामीले घोषणा गरिदिएको हुनाले ती अनियमित भएका कुराहरु जलाउन खोज्नुभएको हो ।’
गाउँपालिकाले करारका कर्मचारीहरुको म्यान थप नगर्ने निर्णय गरेपछि गुराँस गाउँपालिकामा तनाव सिर्जना भैरहेको छ । करार कर्मचारीहरुले शुक्रबार गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए । आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जना घाइते भएका छन् । झडपका क्रममा प्रहरी र केही कर्मचारी पनि घाइते भएका छन् ।
यता गाउँपालिकाले भने यसअघि नियम विपरित कर्मचारी नियुक्त गरेर सेवा सुविधा दिएको रकम वेरुजु देखिएको भन्दै म्याद थप नगर्ने निर्णय गरेको बताएको छ । महालेखा, जिल्ला समन्वय समितिले दिएको सुझाव अनुसार करारका कर्मचारीका म्याद नथप्ने निर्णय गरेको अध्यक्ष विसीको भनाइ छ ।
गुराँस गाउँपालिकामा यस अघि नेपाली काँग्रेसको बहुमतको सरकार थियो । यस पटक नेकपा एमालेको बहुमत छ । अघिल्ला जनप्रतिनिधिहरुले काँग्रेसका कार्यकर्ता भर्ती गरेको भन्दै अहिलेको सरकारले एमालेका कार्यकर्ता नियुक्त गर्न करारको म्याद थप नगरेको चर्चा भैरहेको छ । तर गाउँपालिका अध्यक्ष विसीले भने त्यसको खण्डन गर्दै अब पुन करारमा कर्मचारी नियुक्त नगर्ने बताउनुभएको छ । अहिले स्थायी नियुक्तीका प्रार्याप्त कर्मचारी रहेको र नभएका दरबन्दीमा स्थायी नियुक्तीका लागि लोकसेवासंग माग गर्ने अध्यक्ष विसीले बताउनुभएको छ । करारका कर्मचारीको म्याद नथप्ने गाउँसभाको निर्णयबाटपछि नहट्ने पनि अध्यक्ष विसीले जिकिर गर्नुभएको छ ।

अन्तर्वार्ता सुन्नका लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्

https://www.facebook.com/jagarannetwork/videos/2856820841293987