कर्णालीमा घरेलु हिंसा व्याप्त

सुर्खेत, ६ साउन ।
कर्णाली प्रदेशमा घरेलु हिंसा व्याप्त रहेको पाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा २ हजार २ सय ६९ वटा घरेलु हिंसा सम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ६ सय २७ घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएकोमा २०७७÷७८ मा ८ सय ७५ वटा र गत आर्थिक बर्ष २०७८÷०७९ सात सय ६७ उजुरी परेका छन् । कर्णालीका दशवटै जिल्लामध्ये सबै भन्दा बढी सुर्खेतमा घरेलु हिंसाका धेरै उजुरी दर्ता भएका छन् ।
गत आर्थिक बर्षको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ४ सय ४८, दैलेखमा १ सय ३१, जाजरकोटमा ४३, सल्यानमा ३७, रुकुममा २४, जुम्लामा ३९, हुम्लामा १०, मुगुमा १५, कालिकोटमा १४ र डोल्पामा ६ हिंसासम्बन्धी उजुरी परेका छन् ।
सबै खाले घरेलु हिंसा अन्त्यका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियानकै रूपमा थुप्रै कार्यक्रम गर्दै आए पनि यसको न्यूनीकरणमा चुनौती देखिएको छ ।