बलात्कार कसुरमा दैलेखका २१ वर्षीय युवालाई सात वर्ष कैद सजाय

दैलेख । दैलेख जिल्ला अदालतले युवती बलात्कार कसुरमा भगवतीमाई गाउँपालिका–२, रुमका २१ वर्षीय मोहन बुढालाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सात वर्ष कैद, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा एक हजार तीन सय रुपियाँ तिर्नुपर्ने फैसला भएको हो ।
दैलेख जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार गोठाला गएकी २० वर्षीया युवतीलाई दुई वर्षअघि २०७७ फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले घटनाको भोलिपल्ट फागुन १७ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।
सोही उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो । मध्यपहाडी राजमार्गको सडक निर्माणको काममा प्रयोग हुने पानी लिन भनी कट्टी खोलामा ट्याङ्कर लिककएर गएका बेला कसुरदार मोहन बुढाले बलात्कार गरेको भनी पीडित पक्षले उजुरीमा खुलाएको थियो ।
प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी कार्यालयमार्फत चैत १२ गते बलात्कार कसुरमा अभियोग पेस गरेको र त्यही दिन भएको थुनछेक बहसपछि तत्कालीन जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।