मन्त्री पठाउन माओवादीलाई सकस

सुर्खेत, २४ साउन । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रुपमा गैरसांसद नियुक्त भएका छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सकिएको छ ।
लामाको कार्यकाल सकिएपछि नयाँ मन्त्री सिफारिस गर्न सोमबार बसेको नेकपा माओवादी संसदीय दलको वैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
अन्य मन्त्री हेरफेर र समानुपातिक सांसदको कुरा उठेपछि बैठक निष्कर्ष विहिन भएका हो ।
पुराना मन्त्री हेरफेर गरेर नयाँलाई अवसर दिने विषय उठेपछि सहमति हुन नसकेको हो ।
पार्टीमा आवश्यक छलफल गरी विवाद टुङ्ग्याउने जिम्मा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको संसदीय दलकी प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिनुभयो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सिफारिसमा लामालाई २०७८ माघ २३ गते मन्त्री नियुक्त गर्नुभएको थियो ।
सांसद नरहेको व्यक्ति ६ महिनाको लागि मन्त्री बन्न सक्ने व्यवस्था छ । लामाको कार्यकाल आज (सोमबार) सकिएपछि माओवादी संसदिय वैठकले उहाको ठाउँमा अर्का सांसदलाई सिफारिस गर्ने तयारी गरेको दलका सचेतक कृष्णा शाहले बताउनुभयो ।