कर्णालीमा चाडपर्व लक्षित दुघर्टना न्युनिकरण अभियान संचालन, दुर्घटनाका घटनाहरु भने बढ्दै

सुर्खेत । प्रहरीले प्रत्येक वर्ष चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक गर्दै आएको छ । यो वर्ष पनि कर्णाली प्रदेश प्रहरी कार्यालयले दसैं र तिहारलाई लक्षित गरीसुरक्षा योजना सार्वजनिक गरेको छ । तर दुर्घटना भने रोकिएका छैनन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वको समयमा दुर्घटनाबाट ठुलो धनजनको क्षती हुने गरेको पाइन्छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आज बिहान सल्यानको कपुरकोटमा जीप दुर्घटनाबाट मृतक ८ जनाको मृत्यु भएको छ । ९ जना सवारमध्ये एक जना घाइते भएका छन् ।
बाँकेको ढकेरीबाट छुटेको जीप राप्ती राजमार्ग अन्तरगत सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिक आज बिहान साढे ३ बजे दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जीपमा सवार ८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले कर्णाली रैबारसँग बताउनुभयो ।
उहाका अनुसार मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्री रहेका छन ।
त्यसैगरी त्यही घटनामा परेर घाइेत हुनुभएका सोही ठाउँका तिलक वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको थियो ।
यसैबिच, गत वर्ष पनि दशैको १० दिन भित्र प्रदेशभर २१ ओटा सवारी साधन दुर्घटनामा परेका थिए । जून दशैमा ठूलो मानविय क्षती हुनेगरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने, ११ जना घाइते भएका थिए ।
यस्तै, सुर्खेतमा ९ ओटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हुदा, दैलेखमा चार ओटा सवारी दुर्घटनामा ७ जना घाइते छन् भने, सल्यानमा दुई ओटा सवारी दुर्घटनामा १६ जना घाइते भएका हुन ।
जाजरकोट, रुकुमपश्चिम, जुम्ला र कालिकोटमा एक–एक ओटा सवारी दुर्घटना हुदा, रुकुम र जुम्लामा एक–एक जनाको मृत्यु भएको थियो ।
यसरी चाडपर्वका बेला दुर्घटना हुने गरेको छ । कतिपय त चालकको लापरवाहीले यात्रुबाहक सवारी साधनहरु दुर्घटना हुने गरेका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनुभएको छ ।
चाडपर्वका बेला घट्ने यस्ता घटना न्यूनीकरणका लागि प्रहरीले आफ्नोतर्फबाट भरमग्दुर प्रयास गर्दै आएको भन्दै उहाँले त्यसमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभएको ।