प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचनमा मनोनयन दर्ता

जागरण
सुर्खेत, २३ असोज
बुधबारदेखि परेको निरन्तर वर्षाकैबीच कर्णालीमा राजनितिक दलहरुले मनोनयन दर्ता गराएका छन् । आइतबार आज वर्षाकैबीच दलहरुले मनोनयन दर्ता गराएका हुन् ।
सुर्खेतमा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धन रहेको छ । नेपाली कांग्रेसका पार्टी उपसभापति पूणर्बहादुर खड्काले मनोनयन दर्ता गर्नुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि खड्काले वारेसनामा मार्फत मनोनयन दर्ता गराउनुभएको हो ।
यस्तै, प्रदेशसभातर्फ गठबन्धनबाट कांग्रेसका खड्क पोखरेल र माओवादीका कृष्ण जिसीले पनि मनोनयन दर्ता गराउनुभएको छ ।
सुर्खेत क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमालेका उम्मेदवारहरूले दर्ता गराएसँगै गठबन्धन तर्फका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र–२ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका नेता हृदयराम थानीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै क्षेत्र २ (क) बाट कांग्रेसकै कालीप्रसाद शाक्यले उम्मेदवारी दर्ता गराएका छन् भने २ (ख) मा माओवादीका विन्दमान विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लाको प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यद्यपि गठबन्धनभित्रको साझेदार दल एकीकृत समाजवादीले भने यो क्षेत्रमा प्रदेश सभातर्फ आफ्नो एकल उम्मेदवारी दिएको छ । समाजवादीले (क) मा शिव उपाध्याय र (ख) मा मोहन बडुवाललाई उम्मेदवार बनाएको छ ।
सुर्खेतमा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धन रहेको छ । जसअुसार २ प्रतिनिधिसभा र २ प्रदेशसभा कांग्रेसले लिएको छ भने, २ प्रदेशसभा माओवादीले पाएको छ ।
यस्तै, कर्णालीमा नेकपा माओवादीबाट एकमात्र महिला उम्मेदवार बनेकी जुम्लाकी गोमा गौतम (कुँवर)ले मनोनयन दर्ता गर्नुभएको छ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा गोमाले प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएकी एक्ली महिला उम्मेदवार हुनुहुन्छ छ ।
१२ प्रतिनिधिसभा रहेको कर्णाली प्रदेशमा अन्य कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन् । उहाँ गठबन्धनकोतर्फबाट जुम्लामा प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनुभएको हो ।
यस्तै, दैलेख क्षेत्र नं.–२ (ख) मा नेकपा (माओवादी केन्द्र) ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई टिकट दिएको छ । घनश्याम भुसाल प्रमुख रहेको एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका उहाँले भुसालले एमाले परित्याग गरेसँगै एमाले शनिबार साँझ एमाले परित्याग गर्नुभएको थियो ।
शाही एमालेबाट पनि प्रदेश सभाका लागि सिफारिस हुनुभएको थियो । तर एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले टिकट प्राप्त गर्नुभयो ।
माओवादीबाट एकल सिफारिसमा परेका उपेन्द्र कुमार रावत ‘सुशील’ लाई ब्याक गराएर शाहीलाई टिकेट दिएको भन्दै दैलेख माओवादीमा भने तरङ्ग आएको छ । केही माओवादी कार्यकर्ताले माओवादी त्यागेको घोषणा समेत गरिसकेका छन् ।

यस्तै, नेकपा एमालेले पनि मनोनयन दर्ता गरेको छ । नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले प्रदेशसभाको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ सुर्खेत निर्वाचन क्षेत्र नं–२ (क) बाट प्रदेशसभाका लागि उम्मेदवार हुनुहुन्छ ।
यस्तै एमालेबाट २ बाट प्रतिनिधिसभाका उम्मेदवार एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले पनि कँडेलसँगै उम्मेदवारी दर्ता गराएका छन् भने २ (ख) बाट प्रदेशसभाका लागि ताराकेशर गौतमले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभा २ (क) मा पदम बनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । बन पूर्व वाइसियल जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।
यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य एवं कर्णालीका पूर्व मन्त्री दल रावलले हुम्लाबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
एमालेबाट प्रतिनिधिसभाका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट धुव्रकुमार शाही, प्रदेश (क) मा ठम्बर विष्ट र (ख) मा डण्डीप्रसाद शर्माले पनि मनोनयन दर्ता गराएका छन् ।