कर्णालीमा सत्ता गठबन्धनलाई बागी उम्मेदवारहरू नै चुनौती

सुर्खेत । कर्णालीमा सत्ता गठबन्धनलाई बागी उम्मेदवारहरू नै चुनौती बन्ने देखिएको छ । गठबन्धनमा भागबण्डा मिलाउँदा टिकट नपाएकाहरूले बागी उम्मेदवारी दिएका छन् ।
गठबन्धनभित्रकै दलका नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दिएका कारण आधिकारिक उम्मेदवारहरूलाई हम्मेहम्मे पर्ने देखिएको हो ।
कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उहाकै सहयात्री काशीचन्द्र बरालले बागी उम्मेदवारी दिएपछि चुनौती थपिएको छ ।
कालिकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी नेता शाहीलाई आफ्नै पार्टीका नेता बरालले बागी उम्मेदवारी दिएर चुनौती दिनुभएको छ ।
जिल्लाको रास्कोट नगरपालिकाका पूर्व मेयरसमेत रहेका बरालको उम्मेदवारिका कारण नेता शाहीको मत काटिने त्रासमा सत्ता गठबन्धन रहेको छ ।
बरालले आफूले जित्ने दाबी गरिरहँदा नेता शाहीले भने गठबन्धनको मतले आफूलाई राहत पुग्ने अपेक्षा गरिरहनुभएको छ ।
यस्तै गठबन्धनको तर्फबाट जुम्लाको प्रदेशसभा (क) का उम्मेदवार ललितजंग शाहीविरुद्ध उहाकै सहयात्रीबाट बागी उम्मेदवारी परेको छ ।
कांग्रेसको कर्णाली प्रदेश समितिका सभापति रहेका ललितजंग सत्ता गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार बन्नुभएको छ । तर उहाविरुद्ध कांग्रेसकै नेता देवेन्द्र शाहीले बागी उम्मेदवारी दिनुभएको छ ।
देवेन्द्र यसअघि २०७४ मा प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार बने पनि तत्कालीन बाम गठबन्धनसँग पराजित हुनुभएको थियो ।
यस्तै सल्यानबाट प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाविरुद्ध कांग्रेसका राजेन्द्रबहादुर शाहले बागी उम्मेदवारी दिनुभएको छ ।
पूर्व राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता शाहले बागी उम्मेदवारी दिएपछि गठबन्धन त्रासमा छ ।
रुकुमपश्चिमबाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कांग्रेसका तारक केसीले बागी उम्मेदवारी दिनुभएको छ ।
शर्मा गठबन्धनको आधिकारिक उम्मेदवार भए पनि कांग्रेसलाई टिकट नदिइएको भन्दै केसीले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएको हो ।
हुम्लामा गठबन्धनको तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार रणसिंह परियारविरुद्ध काँग्रेसका मंगल शाही र एकीकृत समाजवादीका हस्त शाहीले उम्मेदवारी दिनुभएको छ । यद्यपी यहाँ पाँच दलीय गठबन्धनले उम्मेदवारीबारे छलफल जारी रहेको जनाएको छ ।
जुम्लाको प्रदेशसभा (ख) मा गठबन्धनका पदम रोकायाविरुद्ध कांग्रेसका धनबहादुर बस्नेतले बागी उम्मेदवारी दिनुभएको छ । यसैबीच मुगुमा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध एमालेकै दुई जनाले बागी उम्मेदवारी दिएका छन् ।
मुगुबाट प्रतिनिधिसभाका लागि एमालेका आधिकारिक उम्मेदवार राजु कार्की भए पनि एमालेकै नेताहरू कृष्ण सेजुवाल र भीमचन्द्र हमालले बागी उम्मेदवारी दिनुभएको छ । गठबन्धन भित्रका दलबाटै बागी उम्मेदवार मैदानमा उत्रिएपछि आधिकारिक उम्मेदवारलाई चुनौती थपिएको हो ।