कर्णालीमा शैक्षिक सत्र शुरु भएको मध्यसम्म पनि अझै पाठ्यपुस्तक पुगेन

भावना राना ।
कर्णालीमा शैक्षिक सत्र शुरु भएको मध्यसम्म पनि सबै पाठ्यपुस्तक पुग्न सकेको छैन ।
पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरुको पढाई नै प्रभावित भएको छ । हिमाली जिल्लाहरुमा फागुनदेखि नै नयाँ शैक्षिक सत्र शुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरुले गुनासो गरेका छन ।
समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित हुन पुगेको भन्दै अहिलेसम्म पुस्तक नपाउनु सम्बन्धित निकायको लापरबाही भएको विद्यार्थीहरुको गुनासो छ ।
उनिहरुले मतपत्र समयमै पुग्ने तर विद्यार्थीहरुको लागि किताब नपुग्नु बिडम्बना भएको विद्यार्थीहरुको भनाई छ ।
यता, किताब समयमै पुग्न नसक्नुको कारणलाई सम्बन्धित नीकायहरु भने एकले अर्कोलाई देखाउँदै पन्छिने गरेका छन ।
कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाहरुको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको बताएको छ ।
कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दिपा हमालले यस विषयमा स्थानीय सरकारबाट किताब पुग अपुग भएको सन्दर्भमा केही जानकारी नआएको कर्णाली रैबारसँग बताउनुभयो । उहाले भन्नुभयो, “मिडियाहरुमा भने आइरहेको छ, यस विषयमा हामीलाई स्थानीय सरकारले कुनै जानकारी दिएका छैनन । प्रदेश सरकारबाट भने किताब किन्नको लागि बजेट निकासा भइसकेको छ ।”
पालिकाहरुले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउदै आएका छन् । पुस्तकको लागि विद्यालयको खातामा रकम पठाईसकेको तर पुस्तक अभावको कारण विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको प्रदेश राजधानी समेत रहेको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी पुरी वनले बताउनुभयो । हामीले किताब किन्नको लागि बजेट विद्यालयमा पठाइसकेका छौ । उहाले भन्नुभयो, “पुस्तक अभाव भइरहेको भन्ने आइरहेको छ । यस विषयमा हामी जानकारी लिने छौ ।”
यसैबिच, पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन ।
जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले स्थानीय तह र विद्यालयहरुबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गर्नुहुन्छ ।
तर जनक शिक्षा सामाग्रि केन्द्रको केन्द्रीय कार्यालयले भने कागजको अभावका कारण पुस्तक छपाई हुन नसकेको प्रतिक्रिया दिएको छ ।
मतपत्रको लागि भने निर्वाचन आयोगले कागज उपलब्ध गराएको हुनाले मतपत्रको छपाई चाडै र सहजै सम्पन्न भएको तर किताब छाप्नको लागि कागजको अवाभ रहेको केन्द्रीय कार्यालयका प्रवक्ता चित्र कुमार आर्चायको भनाई छ । कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पुस्तक नपाउने समस्या वर्षेनी खेप्दै आएका छन् ।
कर्णालीको दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा ६ को विज्ञान, गणित र अग्रेजी विषयको ६ हजार पुस्तक पुग्न नसकेको बताइएको छ भने कक्षा ८ को विभिन्न विषयको ३ हजार किताब पुग्न सकेको छैन । त्यसैगरी कक्षा ११ र १२ कक्षाको १२ हजार किताब पुग्न नसकेको जनाइएको छ ।
पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मेवारी पाएका निकायहरुले भने एकले अर्कोलाई जिम्मेवारी भन्दै पन्छिने गरेका छन ।