प्रचण्डलाई प्रधानमन्त्री बनाउन १ सय ६६ जना सांसदको समर्थन, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज आइतवार बसेको विभिन्न दलका नेताहरूको बैठकले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेको हो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर एक सय ६६ जना सांसदको समर्थन रहेको एमालेका महासचिव शंकर पोख्रेलले जानकारी दिनुभयो । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ ।
प्रचण्डलाई समर्थन गरेका दलका नेताहरू अब दाबी पेस गर्न राष्ट्रपति भवनमा जाने तयारी गरेका छन् । नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग छ र नागरिक उन्मुक्ति पार्टीसँग चार जना सांसद रहेका छन् ।