सुर्खेत, १३ पुस ।
सुर्खेत जिल्लाको भेरी किनारका विभिन्न चार ठाउँमा बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ ।
बराहताल वडा नं. २ पाग्मा, वडा नं. ४ तरंगा, पञ्चपुरी नगरपालिका वडा नं. ९ जामु र वडा नं. ११ कुइनेमा पूर्व सूचना प्रर्णाली जडान गरिएको हो । रिनेवल वल्र्डको सहयोगमा सुन्दर नेपाल संस्था सुर्खेतले सञ्चालन गरेको भेरी पूर्व सूचना प्रणाली परियोजना अन्तर्गत उक्त सूचना प्रर्णाली जडान गरिएको हो । बाढीको जोखिमको आधारमा ती क्षेत्रमा पूर्ण सूचना प्रणाली जडान गरिएको रिनेवल वल्र्डका कार्यक्रम व्यवस्थापक विना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जडान गरिएका पूर्व सूचना प्रणालीले नदिको वहाव बढेमा सुरक्षित रहन र कम भएपछि पनि सोही स्थानमा फर्किनका लागि सूचना दिनेछ । ती समुदायमा समुदायमा आधारित विपद व्यवस्थापन समितिहरु गठन गरिएको छ भने स्थानीय पालिकाहरुसंग सहकार्य गरिएको छ । समुदायको सक्रियामा सञ्चालन गरिने प्रणालीले बाढी बाट हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कंडेलले बताउनुभयो ।
यसैबीच सुर्खेतको भेरी पूर्व सूचना प्रणाली परियोजनाको समीक्षा तथा परियोजना समापन कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । पूर्वसूचना प्रणालीको दिगोपनाको लागि पालिका सामुदायिक विपद् व्यवस्थापन समिति, वडाको भूमिका हुनुपर्ने औलाइएको छ । जिल्ला समन्वय समितिका समन्वय प्रमुख गंगाराम सुनारले पालिका तथा वडाको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । आफना नागरिकको सुरक्षाको पहिलो दायित्व पालिकाहरुको हुने भन्दै त्यसका लागि जिम्मेवार हुन आग्रह गर्नुभयो । जल तथा मौसम कार्यलय कोहोलपुरका प्रमुख रामबिकेश रायले बाढीको नाप नक्साको लागि डाटा आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख, बराहताल गाउपालिकाका अध्यक्ष, बराहताल गाउपालिकाका उपाध्यक्ष, विपद् फोकल पर्सन, सम्वन्धित वडाका वडा अध्यक्ष, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, रेडक्रस, गैसस महासंघ, पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय, आन्तरिक मामीला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन लगायतको उपस्थिति रहेको थियो । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।