कर्णालीको मुख्यमन्त्रीमा शर्मा नियुक्त, ढाई–ढाई बर्ष सरकारको नेतृत्व गर्ने एमाले-माओवादी सहमती


सुर्खेत, २७ पुस ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त हुनुभएको छ ।
माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ रुकुम पश्चिम प्रदेशसभा क्षेत्र नं.‘२’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । संघीय सरकारमा सत्ता समिकरण गरेका दलहरुको सहमति अनुसार कर्णालीमा माओवादी केन्द्रले पूरा कार्यकाल नेतृत्व गर्ने निर्णय भएको थियो । तर आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको एमाले कर्णाली प्रदेश संसदीय दलले ढाई ढाई बर्ष सरकारको नेतृत्व गर्नुपर्ने सहमतिमा समर्थन गरेको छ । आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा दुई दलबीच लिखित सहमति भएको एमालेका एक नेताले जानकारी दिए । नवनियुक्त मुख्यमन्त्री शर्माले पनि उक्त सहमती भएको स्वीकार गर्नुभयो । ‘सरकारको नेतृत्व आलो पालो गर्ने सहमती भएको छ’ पत्रकारको प्रश्चमा मुख्यमन्त्री शर्माले भन्नुभयो,‘दलका नेताहरुबीच त्यही सहमती भएको छ ।’


सत्ता साझेदार दलहरुले मन्त्रालयको संख्या घटाएर सात वटा बनाउने पनि सहमति गरेका छन् । सुरुमा एमाले र माओवादीको सरकार हुँदा सात वटा नै मन्त्रालय रहेकोमा सत्ता समिकरण परिवर्तन भई काँग्रेस माओवादीको सरकार बनाउदा एक मन्त्रालय थपेर आठ पु¥याइएको थियो । प्रशासनिक खर्च घटाइ सुशासन कायम गर्नका लागि मन्त्रालयको संख्या घटाउने निर्णय भएको नेताहरुले बताएका छन् । विगतमा सबैलाई भाग पु¥याउन सरकारलाई व्ययभार पर्नेगरी मन्त्रालय टुक्र्याइएको भन्दै एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कंडेलले आवश्यक नभएको मन्त्रालयको संख्या घटाइएको बताउनुभयो ।
कुनै पनि दलले प्रदेशसभामा स्पष्ट बहुमत नल्याएपछि प्रदेश प्रमुख परियाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबि पेश गर्न सात दिनको समय दिएर आह्वान गर्नुभएको थियो । शर्मा दाबि पेश गर्ने अन्तिम दिन सोही धारा बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने तेस्रो मुख्यमन्त्री बन्नुभएको छ । नव नियुक्त मुख्यमन्त्री शर्मालाई भोली सपथ ग्रहण गराइने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।