दैलेख । दैलेख राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ ।
दैलेखको आठबिस नगरपालिका र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चार वर्षअघि भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो ।
सम्झौता अनुसार राकम कर्णालीमा एक सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ ।
कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको प्रकृया अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलले बताउनु भयो ।
अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिने रावलले बताउनु भयो ।
शिक्षण अस्पताल निर्माणका लागि आठबिस नगरपालिका–३ मा ४० रोपनी अर्थात् ९२ हजार एक सय ३० वर्ग मिटर क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगरका मेयर तर्कबहादुर बडुवालले बताउनु भयो ।
अस्पताल निर्माणको लागि डीपीआर बनिसकेको छ । अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरका मेयरको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।
प्रतिष्ठानले राकम कर्णालीको आधारभूत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ ।
गैह्रआवासीय नेपाली सङ्घ एनआरएनबाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबिस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको छ ।
अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रसारण ट्रास्फर्मर खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिलसेनाले बताउन भयो ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, प्रतिनिधि सभा सदस्य सोबिता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगायतको उपस्थितिमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो ।

